मनाङ्गका सांसद भ्रष्टाचारी मुद्दाका कारण तत्काल निलम्बित


६ मंसिर, काठमाडौं । मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङ सांसद हुन नपाउँदै निलम्बित भएका छन्। उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी सांसदको हैसियतमा काम गर्न नपाउने भएका हुन्

भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी स्वतः निलम्बनमा पर्नेछन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ मा कुनै व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएकामा त्यस्तो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।

गुरुङविरुद्ध भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुशील कोइराला नेतृत्वको सरकारमा गुरुङ श्रम राज्यमन्त्री हुँदा गरेको निर्णयका आधारमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । सो मुद्दामा विशेष अदालतले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

निर्वाचनसम्बन्धी ऐनले भ्रष्टाचार मुद्दामा दोषी नठहरिएका व्यक्तिलाई उम्मेदवार बन्न अयोग्य ठहर नगरेका कारण यस्ता व्यक्तिले चुनाव लड्न पाउँछन् । तर मुद्दा किनारा नलागेसम्म गुरुङले सांसद भएर काम गर्न पाउने छैनन् ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा कांग्रेसकै नेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा परेको थियो । यसपटक पनि गच्छदार उम्मेदवार भएका छन् ।


टिप्पणी छोड्नुहोस्